Skip to main content

निरुत्तर उत्तर

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


मैनाका श्रीमान रोजगारको सिलसिलामा बिगत २-३ बर्षदेखि बिदेशमा छन्। एउटा छोरो छ, जो भर्खरै स्कुल जान शुरु गरेकोछ। घरमा बृद्ध सासु ससुरा पनि छन्। नजिकै जेठाजु-जेठानीको घर पनि छ तर संबन्ध राम्रो छैन। सम्पत्ती अंशबण्डामा फुटेको उनीहरुको मन कैले जोडिएन। मौका मिल्ना साथ मैनाको बिरुद्धमा उत्रिहाल्छन्।

गाऊँमा एक शिक्षक छन- देव कुमार। मैनाको छोरो सोही स्कुलमा पढ्छ। छोरालाई स्कुल पुर्याउन लिन जाने क्रममा शिक्षकसंग मैनाको चिनाजान हुन्छ। मैनाको घरको बाटो हिंड्दा बोलाएर जाने गर्छन्। कहिलेकाँही मैनाले चिया खाएर जान गरेको आग्रह स्विकार पनि गर्छन्। तर देव कुमार सर आएको चालपाए पछि जेठानीले चियोचर्चो गर्न गरेको मैनालाई थाहा हुन्छ तर उनी वास्ता गर्दिनन्। नबिराउनु नडराउनू भनेर।


एक दिन मैनाको घरमा केही युवाहरु देखा पर्छन्। “हामीहरु नया सत्ताका मानिसहरु हौ। देशलाई सामन्तवाद, शोषण र अत्याचारबाट मुक्त गर्न यूद्ध लडिरहेकाछौं। हाम्रो थप परिचय दिन नपर्ला। हामीले सुन्यौ तपाँइका श्रीमान वैदेशिक रोजगारमा हुनुहुन्छ र राम्रो कमाइ गर्नु हुन्छ रे। निश्चतरुपमा तपाँईहरु हामीलाई सहयोग गर्ने हैसियतमा हुनुहुन्छ”।

यिनीहरु को हुन् भनेर मैनाले चिनिहालिन्। भित्र भित्र डर पनि लाग्यो। “हामी के सहयोग गर्न सक्छौं र। बिदेश जांदा ऊहाँले लिनु भएको ऋण आधा पनि तिरी सकिएको छैन।काम पनि राम्रो मिलेको छैन रे”। मैनाले असमर्थता ब्यक्त गरिन्।

“जनयूद्धलाई तपाँईहरुले जसरी पनि सहयोग गर्न पर्छ। तपाँईहरु जस्ताकै सहयोगले हाम्रो यूद्धले यो उचाइ हासिल गरेको हो। हामी दुई हप्ता पछि आउनेछौं। तपाँईको श्रीमानलाई सम्पर्क गर्न पर्छ भने गर्नूस्। तर पचास हजार रुपियाँ तयार पारेर राख्नूहोला” ।

ती युवाहरु त गए तर मैनाको लागी प्रशस्त डर र चिन्ता छोडेर गए। ऊनीहरुलाई चन्दा नदिंदा के के गर्न सक्छन भन्ने कुरो मैनाले सुनेकी थिईन्। यो कुरा मैनाले देव कुमार सरलाई समेत भनिन् र सल्लाह मागिन्।

“यस्ता कुराहरुको डटेर सामना गर्नु पर्छ। जनयूद्धको नाममा जनताहरुलाई दू:ख दिनेहरुको बिरोध गर्न पर्छ”। देवकुमार सरको स्वरमा प्रतिरोध थियो। उनले मैनालाई चिन्ता नलिन सल्लाह दिए। तर चिन्ता नलिनू कसरी। दुई घण्टाको बाटो पैदल हिंडेर गई श्रीमानलाई खबर गरिन्। उताबाट श्रीमानको लाचार जवाफ आयो। पहिलेको जागीर छुटेर बेरोजगार पो भएका रहेछन्।

ठिक दुई हप्ता पछि ती जनयद्धवालाहरु आए। कता कता देवकुमार सर पनि ठ्याक्क त्यँहा आईपुगेछन्। देवकुमार सरको ऊनीहरुसंग ठूलो वादविवाद चल्यो। मैनाले धेरै कुराहरु बुझिनन् तर तिनीहरु चेतावनी दिएर गए। “हामीलाई सहयोग नगर्ने, गर्न नचाहनेहरुलाई हामीले प्रतिगामी कित्तामा राख्नेछौ र प्रतिगामीहरुले नराम्रो परिणाम भोग्न पर्नेछ”।

केहि महिना बित्यो। खास त्यस्तो केही घटना घटेन। तर जेठानी दिदीले देव कुमार सरसंगको मैनाको हिमचिम बढेको कुरो फुक्दै हिंड्न थालेकीथिईन्। अंशबण्डा देखिको रीस छंदैथियो र कसरी हुन्छ, कुनै निहूँमा मैनाको हुर्मत लिनु थियो। त्यस्ताको मुख के लाग्नु भनेर मैनाले कुनै प्रतिकार गरिनन् बरु चुपचाप सहेर बसिन्।

एक दिन मैनाको छोरो सिकिस्त बिरामी भयो। गाउमा धामीझाँक्रीले बिसो पार्न सकेनन्। देव कुमार सरले छोरालाई सदरमुकामको अस्पतालमा लिएर जाने सल्लाह दिए। “सासु ससुरा बृद्ध, म एक्ली महिलाले कसरी छोरालाई सदरमुकाम लिएर जाने होला”। मैनाले चिन्ता ब्यक्त गरिन्।

“मैना, मेरो पनि शिक्षा कार्यालयमा केही काम छ। त्यसैले सदरमुकाम जानु पर्नेछ। म पनि तपाँईसंगै जाऊँला। चिन्ता नमान्नूहोला”।

‘उसै त जेठानी दिदीले देव कुमार सरसंगको संबन्धको हल्ला फिंजाएकीछिन्। अव उनैसित सदरमुकाम जाने हो भने त के होला। गाऊँ फर्केर न आए पनि हुन्छ। तर छोराको स्वाश्थ्यको कुरा छ। आ जे त होला, कुरा काट्नेको मुख थुन्न सकिदैन’। देवकुमार सरसंग सदरमुकाम जाने निधो गर्छिन्।

दुई दिन जति छोरालाई अस्पताल राखेपछि डाक्टरले डिस्चार्ज गरिदिन्छ। मैना घर आईपुग्दा आँगनमा ठूलो कचहरी चलिरहेकोहुन्छ। आँगनमा जेठाजु-जेठानी, सासु-ससुरा, गाँउ सरकारका मान्छेहरु र पहिले जनयूद्धका लागि भनेर चन्दा माग्न आउनेहरु सबै थिए।

छोराको उपचारको बहाना बनाएर मैना र देव कुमार मास्टर मोजमस्ती गर्न गएका आरोप लगाईन्छ। “यिनीहरुको पहिले देखिकै लसपस मेरो आँखाले देखिरहेको थिंए, तर आफ्नो आङको छारो आफैं के ऊडाउनु भनेर चुप लागकी थिँए।“ जेठानी दिदीले मच्ची मच्ची आरोप लगाउछिन्। मैनालाई चरित्रहिन, समाजको कलंक भएको आरोप लगाईन्छ।

जन सरकारका मान्छेहरुले फैसला गर्छन। "मैना र देवकुमारबिच अनैतिक सम्बंध रहेको कुरो हाम्रो जनसरकारमा पहिले नै उजूरी परेको थियो र हामीले निगरानी गरिराखेका थियौं। अहिले छोराको उपचारको निहूँमा एउटी बिबाहित महिला परपुरुषसंग एक्लै शहर जानुले त्यो पुष्टी गर्छ र यसलाई हाम्रो पार्टी घोर बिकृति र अपराध ठान्दछ। समाजका यस्ता बिकृति, बिसंगति र चरित्रहिनता बिरुद्ध लड्ने हाम्रो पार्टीको निति अनुसार मैना र देवकुमारलाई श्रीमान र श्रीमतिको रुपमा रहन हाम्रो जनसरकार आदेश दिन्छ।हामीले मैनाको श्रीमानलाई खबर गरिसकेकाछौ।"

मैना आफ्ना बृद्ध सासु ससुरा तिर सहयोगको याचनाले हेर्छिन् तर उनीहरुले अर्कैतिर मुन्टो बटार्छन्। मैना अकस्मात पर्न आएको बिपत्तीले बिचलित हुन्छिन्। आफू मुनिको जमीन भा्स्सिएको महसुस हुन्छ। अकास पनि फनफनी घुमेको जस्तो लाग्छ।

“यो गलत हो। मैना र म बिच त्यस्तो कुनै अनैतिक संबन्ध छैन” देवकुमार चिच्याउँछ। देवकुमारसंग पहिला वादविवाद गर्ने ती क्रान्तिकारीहरु देवकुमार माथि खनिन्छन्। “साले प्रतिगमनकारी, सरकारी सुरागीवाला, तैंले हाम्रो महान जनयूद्ध बिरुद्ध षडयन्त्र गर्ने, मानिसहरुलाई हाम्रो बिरुद्ध भड्काउने?” आरोपसंगै लठ्ठी, लात, घूसा बर्सिन्छ।

मैनाको बिरामी छोरो डरले मैनासंग लपक्क टाँसिन्छ। तर जेठानी दिदीले छोरो खोसेर लैजान्छे। मैनालाई भुत्ल्याएर लछारपछार गरिन्छ। देवकुमार र मैनालाई जबर्जस्ती एउटा कागजमा सही गराईन्छ जसमा उनीहरु बिच अनैतिक सम्बन्ध भएको कुरा स्विकार गरी श्रीमान श्रीमतिको रुपमा बस्न मञ्जुर भएको कुरा लेखिएको हुन्छ।

मैना गाँउको प्रहरीमा उजुरी गर्न जान्छिन्। “जनसरकारवालाहरुले गरेको काममा हामी केही गर्न सक्दैनौ”। प्रहरीले लाचारी ब्यक्त गर्छ। श्रीमानलाई पनि फोन गर्छिन्। जेठानी र जनसरकारवालाहरुले पहिले नै उसको कान भरिदिईसकेको हुन्छ। मैनाले केही भन्न नपाउँदै उताबाट फोन राखिदिन्छ। मैनासंग अब निराशता बाहेक केही बाँकि रहन्न। ईज्जत, परिवार, सबै गुम्यो। अव म किन बाँचू। आत्महत्या बाहेक अरु केही बाटो देख्दिनन्। सेतीको खोंचमा हाम फाल्न मात्र के ठिक परेकी हुन्छिन्, पछाडिबाट कुनै पुरुष हातले मैनालाई च्याप्प समात्छ। त्यो देवकुमार नै हुन्छ। मैना देवकुमारको छातीमा टाँसिएर भक्कानो फुट्ने गरी रुन्छे।

“मसंगको सम्बंधले तिमीलाई बदनामी त दियो मैना, तर तिमीलाई मर्न चाँहि दिन सक्दिन। मैले तिमीलाई कहिले त्यस्तो नजरले हेरिन तर तिमी मलाई आफु योग्य ठान्छौ भने तिमीलाई जीवन भर साथ दिन तयार छु”।

मैनाबाट केही उत्तर आऊदैन। एकतमाससंग देवकुमारको छातीमा टांसिएर रोई मात्र रहन्छिन्। तर देवकुमारले मैनाको निरुत्तर रुवाइमा नै उत्तर पाईसकेको हुन्छ। तल खोंचमा सेती एक तमाससंग सुसाइरहेको हुन्छ।

Comments

  1. Perfect story! It characterizes Nepalese society, present political situation and rising problems of many many house holds. Good Job Postak jee!

    ReplyDelete
  2. Katha lamao bhaya pai yethartha bokeko rayacha... A good piece of writing !

    ReplyDelete
  3. उत्कृष्ठ प्रस्तुती ! जीउ नै सिरिङ्ग पो बनायो तपाईको यो कथाले ! कथा काल्पनिक भए पनि यथार्थता अंगालेको छ । नेपाली सामाजिक परिवेश सुहाउदो यो कथा ले नेपाल मा रहेको केहि नकारात्मक सामाजिक रितिरिवाज तथा चालचलन चिरफार गर्न सफल भएको छ ।
    धन्यबाद तपाईको यो उत्कृष्ठ प्रस्तुती को लागी !

    ReplyDelete
  4. Good article ! You have a great power of imagination ! Keep writing.

    ReplyDelete
  5. पोस्तक श्रेष्ठ5/31/09, 7:10 AM

    प्रतिकृया ब्यक्त गर्नु हुने सबैलाई मेरो हार्दिक धन्यवाद। तपांईहरुको दुई शब्द मेरो लागि प्रोत्साहनको भकारी हुनेछ।

    ReplyDelete
  6. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ