
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका
पहिलो भाग पढ्न यहाँ थिच्नु होला।
त्यस पछि मैले नैनकलालाई जताततै देख्न थालेको थिएं; भेट्न थालेको थिंए ।मेरा आंखाहरु उनीलाई खोज्दै हिंड्थ्यो वा उनी मलाई खोज्दै हिंडथिन्, त्यो चाँहि यकिन भएन। तर हाम्रो बाक्लो जम्काभेट संयोग मात्र पक्कै हुन सक्दैनथ्यो। मेरो कक्षाकोठाको झ्यालबाट कहिले उनी मलाई चियाईरहेकि हुन्थिन् त म आफैं कहिले उनको कक्षाकोठा बाहिर टहलिरहेको हुन्थें। कुनै दिन नैनकलालाई देख्न पाइन भने नरमाईलो लाग्थ्यो, खल्लो लाग्थ्यो। केही नपुगेको जस्तो, केही नभएको जस्तो।
मेरो एसएलसी परिक्षा सकियो र अब स्कुल जानु पर्ने काम रहेन। तर नैनकलासंगको भेट कम भएको थिएन। पानी पंधेरो, घट्ट, गाई चराउन जांदा, हटिया बजारमा, मेलाहरुमा भेट भैरहन्थ्यो। केही दिन भेट भएन भने उनको घरको बाटो काम नपरेपनि हिंड्न थालेको थिंए। थाहा छैन, प्रस्ताव पहिला मैले राखेको थिँए वा उनले। हुन सक्छ, औपचारिक प्रस्ताव नै राखिएन। तर हामीले एक अर्कालाई मन दिईसकेकारहेछौं। मन भन्ने कुरो कुनै वस्तु पनि त होईन नि मुखले भनेर वा मागेर लिने वा दिने। यो आफैं साटिदो रहेछ। साटियो, थाहै नपाई।
मेरो एसएलसी परीक्षाको परिणाम आएको दिन उनी औधि खुशी भएकीथिइन्। आत्मबिभोर भएकी थिइन्। म प्रथम श्रेणीमा उत्तीर्ण भएको थिँए। खुशी त म पनि भएको थिँए तर मेरा अगाडिका बाटोहरु अनिश्चित थिए।सबैले अब के पढ्ने, पढ्न कहाँ जाने भनेर सोधिरहेका थिए र मसंग कुनै उत्तर थिएन।
त्यही बेलातिर एकजना मेदिनीप्रसाद काका, जो हाम्रो परिवारको पुस्तैनी जजमान हुनुहुँदो रहेछ, काठमाण्डौंबाट गाँउतिर झर्नु भएकोको थियो। उहाँहरु धेरै पहिला काठमाण्डौं जानु भएपनि केही सम्पत्ती, खेतीपाती अझै गाँउमा रहेछ। सरकारी जागीर, उच्च ओहोदामा हुनुहुँदो रहेछ। बुवाले मेरो बारेमा उँहासंग कुरा राख्नु भएकोथियो।
“यसको पढाइ राम्रो छ, एसएलसीमा प्रथम श्रेणी ल्यायो भन्छ, लौन मेदिनीप्रसाद भाइ, यसलाई के गर्न सकिन्छ, तिमीले मेरो हालत यहाँ देखिहालेका छौ”। बुवाले उँहालाई भाइ भन्नु हुँदोरहेछ।
“हेर्नुस, तँपाई-हाम्रो परिवारको सम्बन्ध भनेको धेरै पुरानो हो। तँपाई मेरो गुरुदाइ हुनुहुन्छ, के गर्न सकिन्छ म गरिहाल्छु नि, चिन्ता नमान्नूस्”। मेदिनीप्रसाद काकाले भन्नु भएको थियो। “तिमीलाई पढ्न मन छ त बाबु? पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन”।
“मलाई पढ्न मन छ”।मैले स्विकृतीमा टाउको हल्लाएको थिँए।
“ल म तीन दिन पछि काठमाण्डौं फर्किंदैछु। तिमी मसंगै हिंड। बस्ने खाने कुनै कुराको चिन्ता नलिनु। पढाइको पनि ब्यबश्था मिलाईदिन्छु। सानो सानो जागीर पनि खोजिदिंउला”। यति भनेर उँहा निस्कनु भएकोथियो।
मलाई यो अप्रत्याशित अवसर प्राप्त हुंदा औधी खुशी लागेको थियो। नैनकलालाई सुनाउंदा उनी पनि खुशी भएकीथिईन्। तर यति छिटो गाँउ घर परिवार छोड्न पर्ने कुराले चाँहि मलाई नरमाइलो लागेको थियो। नैनकलालाई छोडेर जान पर्ने कुराले चिन्तित तुल्याएको थियो।
“तिमीलाई छोडेर म कसरी जाने होला, नैनकला” मैले मेरो द्विविधा ब्यक्त गरेको थिँए।
“तिमीले मलाई सधैंको लागि छोडेर जान लागेको हो र? तिमी जाऊ, धेरै पढ, राम्रो जागीर खाऊ, अनि मलाई पनि लिन आऊ, हुन्न?” नैनकलाले मेरो ढाडस बाँधेकी थिईन्।
त्यसपछि म मेदिनीप्रसाद काकाको पछि लागेको थिँए। म जाने बाटोमा नैनकला कुरेर बसेकीथिइन्। काकाको अगाडि हामी केही बोल्ने कुरा भएन। हामीले एक अर्कालाइ मौन बिदाई गरेका थियौं। धेरै अगाडि पुग्दा सम्म मैले फर्की फर्की हेरेको थिँए। नैनकला अझै हात हल्लाउंदै थिइन्। जति जति मेरा पाईलाहरु अघि बढ्दैथिए, त्यति त्यति म नैनकलाबाट टाढा हुँदै थिँए।
काठमाण्डौमा मेदिनीप्रसाद काकाले सबै ब्यबश्था गरिदिनुभएको थियो। कलेज, डेरा, नोकरी। बिहान कलेज जान्थें र दिंउसो नोकरी। नोकरी उँहा कार्यरत मन्त्रालयमा नै थियो। फूर्सद हुंदा उंहाको घर जान्थे। केही कामहरु सघाई दिन्थेँ। काकाका एक छोरा र एक छोरी थिए। छोरा-मेहुल र छोरी मेघा। आठ-नौ कक्षातिर पढ्थे। उनीहरुको गृहकार्यमा सघाईदिन्थेँ। छोरा-छोरीहरु दुबै उच्च संस्कारका थिए। शुरुका केही दिन गाउँघर परिवार र बिशेषगरी नैनकलाको खुब याद आएपनि म बिस्तारै काठमाण्डौंको जीवनसँग अभ्यस्त हुन थालेको थिँए।
शुरुमा गाँउमा फोन आईसकेको थिएन। नैनकला संगको सम्पर्कको माध्यम चिठ्ठी मात्र थियो। चिठ्ठी पुग्न महिनौं लाग्थ्यो वा पुग्दै पुग्दैनथ्यो। जे होस् बर्षमा एकचोटी दशैंमा घर पुग्थेँ र नैनकलासंग भेट हुन्थ्यो। बर्षभरि साँचेर राखेको माया हामी एक अर्कामा खन्याउँथ्यौं। मेरो र नैनकलाको सम्बन्ध अब गाँउमा गोप्य रहेको थिएन। हामीले बरपिपलको रुखमा हाम्रो नाम खोपेका थियौ। खरीढुँगाले भित्ताहरुमा नाम कोरेका थियौँ। भञ्याङको चौतारी, बन पाखाहरु हाम्रो प्रेमको साक्षी बन्न पुगेका थिए। नैनकलाले पनि एसएलसी पास गरेर गाऊँकै प्राथमिक बिद्यालयमा पढाउन थालेकी थिइन्। पछि गाँउमा टेलीफोन आए पछि नैनकलासंग नियमित कुराकानी हुन पाएको थियो।
आई एस्सीमा पनि मैले राम्रो गरेको थिँए। मेदिनीप्रसाद काकाले कसरी हो, मलाई छात्रबृतिमा अमेरिका पढन जाने ब्यबश्था मिलाईदिनु भयो। बिदेशी कुटनितिज्ञहरुसंग उँहाको राम्रो सम्बन्ध थियो। सबैसंग बिदावारी हुन म गाँउ गएँ। काठमाण्डौं कहिले नपुगेकी नैनकलालाई म अमेरीका जान लागेको कुराले अलि चिन्तित तुल्याएको थियो। हमेशा मलाई हौशला दिईरहने त्यसदिन अलि उदास देखिएकि थिइन्।
“तिमी अमेरीका पुगे पछि फर्केर त आउछौ?” उनीले निराशा ब्यक्त गरेकीथिइन्।
“म फर्केर आँउछु, किन नआउनु। म मेरो मन मष्तिष्क यहाँ छोडेर त्यहां कसरी हराउन सक्छु र?” मेरो कुरा सुनेर ऊनी फिस्स हाँसेकी थिइन्।
म अमेरिका आएको एक-डेढ बर्षजति पछि नेपालमा माओबादी जनयुद्ध शुरु भएकोथियो ।माओबादी र सरकारी सुरक्षा सेनाहरु एक अर्कालाई सिध्याउन लागिपरेका थिए। आफ्नै नेपाली दाजुभाइहरु एक अर्काको रगत बगाउन लागिरहेका थिए। कहिले सरकारी पक्षलाई क्षतिपुगेको समाचार आउथ्यो भने कहिले माओबादी पक्षलाई। सरकारी सुराकी गरेको दोष लगाएर माओबादीहरुले शिक्षक, पत्रकार लगाएत अन्य ईत्तर राजनीतिक पार्टिका कार्यकर्ताहरुलाई सफाया गरिरहेका थिए भने सरकारी पक्षले पनि माओबादीको मतियार, कार्यकर्ता भएको आरोप लगाएर सोझासाझा मानिसहरुलाई दु:ख दिइरहेका थिए। जनता दोहोरो मारमा परेकाथिए। मानिसहरु आफ्नै घर गाँउबाट बिश्थापित भईरहेकाथिए। थाहा छैन, हजारौं आमाबाबुहरुलाई सन्तान बिहीन तुल्याउने, बच्चाबच्चीहरुलाई अनाथ तुल्याउने, आइमाई मानिसहरुलाई बिधवा तुल्याउने यो युध्द कस्को लागि किन भइरहेको थियो, कुनि।
गाँउमा टेलिफोनको टावर पनि माओबादीका केटाहरुले उडाइदिएछन् र गाँउको एकमात्र फोन पनि बन्द भएछ। हुलाक पनि बन्द भएछ। फोन गर्न, पत्र पठाउन ४-५ कोष हिँडेर सदरमुकाम आउन पर्ने भएपछि नैनकलासंगको सम्पर्क एकदम सिमित हुन पुगेकोथियो। तै पनि दुई तीन महिनामा उनी सदरमुकाम आएर फोन गरिरहन्थिन् र पत्र पनि ४-५ महिनाको अन्तरालमा आइरहन्थ्यो।
समय बित्दै गएको थियो। अण्डरग्र्याड कोर्स सिध्याए पछि मेदिनी प्रसाद काकालाई म अव नेपाल फर्कने बिचार राखेको थिँए। नेपालनै फर्कने, बाबुआमाको सेवा गर्ने, नैनकलासंग घरजम गर्ने, मेरा योजनाहरु यस्तै थिए।
“नेपालमा यस्तो युद्ध मच्चिरहेको छ। तिमी यँहा आएर के गर्छौ? नआऊ”। उताबाट काकाको आदेशात्मक आवाज आएको थियो।“ अव मेघा र मेहुल पनि अमेरिका आउँदैछन्, तिमीले तिनीहरुलाई त्यहाँ सहयोग गर्न पर्छ। तिमी पनि अब मास्टर्स को लागि भर्ना गर। तिमीलाई मैले खबर नगरेको पो, तिम्रा बाबुआमा पनि अहिले काठमाण्डौंमा नै हुनुहुन्छ।गाँऊमा बस्न सक्ने श्थिति भएन। तर तिमीले चिन्ता नगर। मैले सबै बन्दोबस्त गरिदिएको छु”। त्यो सुने पछि नैनकलाको बारेमा चिन्ता बढेको थियो।
त्यस पछि म फेरी मास्टर्सको पढाइमा दत्तचित्त भएर लागेको थिंए। मेघा र मेहुल अमेरिका आईपुगेका थिए र अण्डरग्राजुएट कोर्समा भर्ना भएका थिए। बिस्तारै नैनकलाको फोन र पत्रहरु आउन छोडेको थियो। गाऊँमा हुलाक बन्द भइसकेको थाहा भएर पनि मैले पत्रहरु भने पठाउन छोडेको थिइन। पत्रहरु एकतर्फीरुपमा गइरहेका थिए; नदीको पानी जस्तो। तर जवाफ आएको थिएन। किन नआएको होला, कहिलेकाँहि एकान्तमा मन छटपटिन्थ्यो। सायद उनले मलाई अव बिर्सेकिथिइन वा आशा मारेकी थिइन्। पछि त मैले पनि ब्यस्तताले गर्दा पत्र लेख्न छोडिदिएको थिँए।
नेपालमा युध्द पनि पनि चर्किदै गएको थियो। शान्ति श्थापना होला र नेपाल फर्किंउला भनेर कुरिरहें। आ, जे त होला, फर्किन्छु भनेर सोचेको पनि थिंए तर काकाले मेघा र मेहुलको अण्डरग्राजुएट नसकिन्जेल तिमीले फुत्किन पाउन्नौ भन्नु भएपछि उहाँको कुरा अस्विकार गर्ने हिम्मत भएन। मैले जे हासिल गरेको थिँए, त्यो सबै काकाकै कारणले थियो र काकाको आग्रह अस्विकार गर्नु ठूलो कृतघ्नता हुनेथियो। समय बित्दै गयो। मास्टर्स सकेर म अब एउटा ठूलो कम्पनीमा जागीर खान थालेको थिँए। मेघा र मेहुल पनि दुबै ग्राजुयट भएका थिए। दीक्षान्त समारोहमा मेदिनी प्रसाद काका र काकीहरु समेत आउनु भएको थियो। काका, काकी, मेघा र मेहुल हामी सबै जना अमेरीकाका बिभिन्न शहरको भ्रमणमा गएका थियौ। खुब रमाइलो भएको थियो। एक सांझ काका र काकीले मलाई छुट्टै राखेर एउटा प्रस्ताव राख्नु भएको थियो-मेघासंग मेरो बिवाह गरिदिने।
क्रमश: तेश्रो भाग
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
to much intresting to read this story although you have been suffer from to many difficulties in that period. waiting for new episode....
ReplyDeleteअर्को भाग को प्रतिक्षामा ।
ReplyDelete~उपमा
पोस्तकजी,
ReplyDeleteकथाको आख्यान एकदमै सरल, मीठो र यथार्थपरक छ , नसकूञ्जेल रोकिन मन नमान्ने र सकिएपछि अब के हुने होला भन्ने खालको । यसरी नै कलम अनवरत बगोस् है ।
मेदिनीप्रसाद काकाले त कथालाई त रोमानञ्चक पो बनाउन थालेछन् । मलाई त कौतुहलता लाग्न थाल्यो मेघा र नैनकलामा कुन राम्रा होलान् । अव लेखक ज्युलाई द्वुविधा पो पर्ने भयो, हात मा भको अंगुर खाने कि , ७ समुन्द्र पारिको अंगुर जुन कसैले टिपेर खाईसकेको पनि हुनसक्छ, लाई पर्खने ! फेरी लेखक ज्यु को यहा संम आउने खुड्किला हरु मेदिनीप्रसाद काकाले नै हालिदिएक रहेचन् । लौ म बेक्कार मा किन टाउको दुखाउने ! तर यी दुईमा कुन चाहिं राम्री रहेछिन् भन्नु पर्यो लेखक ज्यु ! अनि अर्को कौतुहलता , के बरपिपलको रुखमा खोपेका अनि खरीढुँगाले भित्ताहरुमा कोरका तपाईको र नैनकलाको नाम अझै जिबितै होलान् त ?
ReplyDeleteअनि फेरि अर्को कौतुहलता मेरो मनमा, मेघा के चाहन्छिन त ? के बाबु ले कथा लेखक संग बेहि गर् भन्दै मा बिहे गर्न तयार हुन्छिन त ? लौ यो कोराण्त्मक प्रेम कहानि को चाडो अन्त्य हुनु पर्यो !
सपनासंसार
प्रोत्साहन दिने सबैजना पाठक साथीहरुलाई धन्यवाद। अर्को भागको तानाबाना बुन्दैछु। छिट्टै पस्किनेछु।
ReplyDelete